
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा षड्यन्त्र भएको बताएका छन् । बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा सांसद पाण्डेले नियवश नै त्रुटि गरिएको दाबी गरे ।
उनले आफूले अन्तिममा समितिका सभापति रामहरि खतिवडासँग धेरैपटक विधेयक माग्दा पनि नदिएको गुनासो गरे ।
"सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरैपटक मागेको थिएँ । विश्वासघात भएको छ," उनले भने ।
उनले 'कुलिङ पिरियड'मा छलछाम भएकाले छानबिन गर्नुपर्ने बताए । "छलछाम भएकै हो, छानबिन गर्नुपर्छ । कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्छ," उनले भने ।
उनले अगाडि थपे, "नैतिकताको कुरा आफैँले जान्ने हो । सभापति , सचिवले नैतिकताको कुरा आफैँले देखाउने हो । छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ ।"
सांसद पाण्डेले संसद्लाई सरकारले हेपेको पनि जिकर गरे । "आज त रघुजी आउनुपर्ने हो नि, पहिले समितको सदस्य अन्तिम बैठकमा पनि आउनुभएको थियो । सरकारले संसद्लाई हेपेको छ । सञ्चारमन्त्री आउनुभएको छ, सम्बन्धित मन्त्री आउनुभएको छैन," उनले भने ।