
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा राज्यको लगानी र ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस विषयमा जोड दिएका हुन् ।
महँगो पैसा तिरेर पढ्छु भन्ने हुने खानेहरूलाई विकल्प दिन नसकिए पुँजी र मानवशक्ति दुवै विदेशिने खतरा औँल्याए । उनले राज्य अनिवार्य र निःशुल्क शिक्षाबाट पछि नहटेको बताउँदै राज्यको अनिवार्य र निःशुल्क शिक्षा जरुरत हुनेहरूमा रहेको बताए ।
मन्त्री पन्तले निजी विद्यालयहरू गुठीमा जान्छन् भने छुट दिनुपर्नेमा जोड दिए । राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाउनुपर्ने समेत जिकिर गरे ।
उनले राज्य निजी क्षेत्रलाई निषेध गरेर जाने पक्षमा नरहेको बताउँदै सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।