site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी आक्रमणपछि खामेनीले पुटिनसँग सहयोग माग्न रुस पठाए विदेशमन्त्री

काठमाडौं । अमेरिकाले सन् १९७९ को क्रान्तिपछि इरानविरुद्ध सबैभन्दा ठूलो सैन्य कारबाही गरेको छ । सो कारबाहीपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सोमबार विदेशमन्त्री अब्बास अराघचीलाई रुस पठाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग थप सहयोग मागेका छन् ।

एक वरिष्ठ इरानी स्रोतले रोयटर्सलाई बताएअनुसार अराघचीले खामेनीको एक पत्र पुटिनलाई बुझाउने छन् । अमेरिका र इजरायलविरुद्धको युद्धका लागि पत्रमा खामेनीले पुटिनको समर्थन खोजेका छन् ।

इरानी उच्च सरकारी स्रोतहरूले रोयटर्सलाई बताएअनुसार इरान रुसको हालको समर्थनबाट सन्तुष्ट छैन । पुटिनले इजरायल र अमेरिकाविरुद्ध थप सहयोग गर्नुपर्ने बताए पनि इरानले कस्तो सहयोग चाहन्छ भन्ने खुलाएनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुसी राष्ट्रपतिको कार्यालयले रोयटर्सलाई बताएअनुसार पुटिनले अराघचीलाई भेट्ने बताए पनि छलफलको विषय खुलाउन मानेन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलले खामेनीको हत्या र सत्ता परिवर्तनबारे खुलेर चर्चा गरेको सन्दर्भमा मध्यपूर्वलाई अस्थिरताको खाडलमा पुर्‍याउन सक्ने रुसलाई पनि डर रहेको बताइएको छ । 

पुटिनले इजरायली हमलाको निन्दा गरेको भए पनि अमेरिकाको इरानी आणविक केन्द्रहरूमाथिको हमलाबारे टिप्पणी गरेका छैनन् । यद्यपि, गत हप्ता उनले शान्तिको आह्वान गर्दै इरानको आणविक कार्यक्रममा मस्कोको मध्यस्थता प्रस्ताव गरेका थिए । 

इरानी सरकारी समाचार एजेन्सी टासले अराघचीको भनाइ उद्धृत गर्दै इरान र रुसले मध्यपूर्वको वर्तमान तनावमा आफ्नो अडान समन्वय गरिरहेको जनाएको छ । 

पुटिनले बारम्बार अमेरिका र इरानबीच मध्यस्थता गर्ने प्रस्ताव राखेका छन् । उनले इरानलाई नागरिक आणविक ऊर्जामा पहुँच सुनिश्चित गर्दै द्वन्द्व समाधानका लागि रुसका विचारहरू दुवै पक्षलाई पुर्‍याएको बताएका छन् । 

गत हप्ता पुटिनले इजरायल र अमेरिकाले खामेनीको हत्या गर्न सक्ने सम्भावनाबारे छलफल गर्न अस्वीकार गरेका थिए । पुटिनले इजरायलले इरानको बुसहर आणविक ऊर्जा प्लान्टमा दुई थप रिएक्टर निर्माणमा सहयोग गर्ने रुसी विज्ञहरूलाई हवाई हमलामा हानि नगर्न आग्रह गरेको र त्यसैअनुसार इजरायलले आश्वासन दिएको बताइएको छ । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को भिटो शक्ति भएको सदस्य रुस इरानको लामो समयदेखिको सहयोगी मानिन्छ । रुसले सन् २०१८ मा ट्रम्पले पहिलो कार्यकालमा खारेज गरेको आणविक सम्झौताको हस्ताक्षरकर्ता पनि थियो भने इरानको पश्चिमसँगको आणविक वार्तामा भूमिका खेल्ने गरेको छ । 

तर, पुटिनले युक्रेनमा चार वर्षदेखि ठूलो युद्ध लडिरहेका छन् । ट्रम्पले मस्कोसँग सम्बन्ध सुधार गर्न खोजिरहेको बेला पुटिनले इरानको पक्षमा अमेरिकासँग टकरावमा उत्रने सार्वजनिक इच्छा देखाएका छैनन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्