site stats
बाह्रखरी :: Baahrakhari
खेल
नापोलीमा अनुबन्धित भए मिडफिल्डर डी ब्रुयना

काठमाडौं । बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयना इटालियन क्लब नापोलीमा अनुबन्धित भएका छन् । नापोलीले डी ब्रुयनालाई ‘फ्री एजेन्ट’को रूपमा टोलीमा बिहीबार भित्र्याएको हो । इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता यसै सिजन समाप्त भएपछि डी ब्रुयन क्लबबाट फुकुवा भएका थिए ।

ब्रुयना इंग्लिस क्लब चेल्सी तथा टोटनहमका पूर्वप्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको नापोलीबाट इटालियन सिरी ‘ए’मा प्रतिस्पर्धा गर्नेछन् ।

नापोलीमा अनुबन्धित हुनुअघि उनलाई अमेरिकन लिग मेजर लिग सकर क्लब सिकागो फायर्सले पनि भित्र्याउने प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, नापोलीले कम्प्युटरबाट निर्मित तस्बिर (सीजीआई) प्रयोग गरी ३३ वर्षीय डी ब्रुयनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो ।

उनले सिटीमा १० वर्ष बिताएका छन् । डी ब्रुयना सन् २०१५ मा जर्मन क्लब वुल्भ्सबर्गबाट सिटीमा आएका थिए । उनले सिटीमा एक दशक खेल्दा १९ महत्त्वपूर्ण उपाधि दिलाएका छन् ।

सिटीले दुई वर्षअघि च्याम्पियन्स लिगको उपाधि जित्दा डी ब्रुयना टिमका महत्त्वपूर्ण सदस्य थिए । यसबाहेक, सिटीले ६ पटक प्रिमियर लिग, पाँच लिग कप र दुई एफए कप जितेको छ । यी सबै उपाधि जिताउन ब्रुयनाको विशेष भूमिका रह्यो । च्याम्पियन्स लिग जितकै सिजन सिटीले क्लबको इतिहासमै पहिालेपटक तेहेरो उपाधिसमेत जितेको थियो ।

म्यानचेस्टर सिटीले उनलाई प्रिमियर लिगको अन्त्यमा भावुक बिदाई गरेको थियो । सिटीले गत मेमा घरेलु मैदान इत्तिहाद रंगशालमा बर्नमाउथविरुद्ध खेल्दै सिजनको अन्त्य गरेको थियो । यो खेल नै सिटीमा ब्रुयनाको अन्तिम खेल रह्यो । 

“सिटीमा १० वर्ष रहँदा जेजे भए, त्यो म विश्वास पनि गर्न सक्दिनँ । टोलीसँगको यात्रा अपत्यारिलो र सम्झनयोग्य छ,” सिटीबाट बिदा भएपछि ब्रुयनाले भने, “टोलीलाई सफलता दिलाउन हामीले गरेका कामहरू धेरै रमाइला छन् । टोलीको सफलतामा आफू सहभागी हुन पाउँदा म गौरवान्वित छु । म्यानचेस्टर सिटी पछिल्ला १० वर्षमा मेरो निम्ति परिवार र घर जस्तो बन्यो ।”

ब्रुइनाको स्थानमा सिटीले इटालियन क्लब एसी मिलानबाट टिजान्नी रेइन्डर्स र ओलम्पिक लियोनबाट रायन चेर्कीलाई टोलीमा भित्र्याइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्