
काठमाडौं । फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे स्थान खस्किएको छ । बिहीबार फिफाले अध्यावधिक गरेको वरीयताअनुसार नेपाल एक स्थान घटुवा हुँदै १००औँ स्थानमा झरेको हो ।
नेपाल यसअघि वरीयतामा ९९औँ स्थानमा थियो । एएफसी एसियन महिला कप छनोटको तयारी स्वरुप थाइल्यान्डसँग खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालको वरीयता घटुवा भएको हो ।
नेपाल गत मे ३० मा थाइल्यान्डको थम्मासत रंगशालामा घरेलु टोेलीसँग २–० र बन्द रंगशालामा सम्पन्न अभ्यास खेलमा १–० ले पराजित भएको थियो ।
नेपाल दक्षिण एसियाली वरीयतामा भने दोस्रो स्थानमा छ । वरीयतामा भारत दक्षिण एसियाको पहिलो स्थानमा छ । भारत विश्वमा ७०औँ स्थानमा छ । दक्षिण एसियाको तेस्रोमा रहेको बंगलादेश विश्व वरीयतामा १२८औँ, चौथो स्थानको पाकिस्तान १५७औँ स्थानमा, पाँचौँ स्थानको श्रीलंका १५९औँ मा, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र पुछारमा भुटान १७१औँ स्थानमा छन् ।
अब, नेपालले एएफसी महिला एसिया कप छनोट खेल्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।
छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।