
काठमाडौं । वर्षासँगै देशका केही नदीमा बिहीबार (जेठ २९) पानीको बहाव बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने नदीमा बहाव बढ्न सक्ने भन्दै बाढीको ‘मध्यम’ जोखिमको सम्भावना औँल्याइएको छ । इलाम, मोरङ, तेह्रथुम, पाँचधार, ताप्लेजुङ, संखुवासभा, खोटाङ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौं, मकवानपुर, उदयपुर, चितवन र बैतडी भई बहने केही साना नदीमा समेत बहाव बढ्ने सक्ने महाशाखाको पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । तर, यी नदीमा पानीको बहाव बढ्दो हुने महाशाखाले जनाएको छ ।