
काठमाडौं । सुदूरपश्चिम प्रदेशकी संगीता विक र वाग्मती प्रदेशका प्रवीण रानामगरले १५औँ राष्ट्रपति रनिङ केन्द्रीय खेलकुदको एथलेटिक्समा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबारदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्डमा संगीताले छात्रा चारसय मिटर र प्रवीणले छात्र एकसय मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । यी दुईले कीर्तिमानवापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ नगद पुरस्कार पाए ।
संगीताले निर्धारित दुरी एक मिनेट १.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । संगीताले २०७६ सालमा अरुणा रिजालको नाममा रहेको एक मिनेट १.३० सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् । वाग्मतीकी अनिशा थारुले रजत र कर्णालीकी कृष्णा रानाले कास्य जिते । प्रवीणले भने निर्धारित दुरी १०.७६ सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते । यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेण्डको कीर्तिमान थियो । उनले त्यो कीर्तिमान २०७० सालमा बनाएका थिए । कोसी प्रदेशका सुजन मण्डलले रजत तथा लुम्बिनी प्रदेशका शुभम बमरेलले कास्य पदक जिते ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा कुल २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । छात्रा एकसय मिटर दौडमा वाग्मतीकी दिना गोपालीले स्वर्ण जितिन् । उनले १२.८१ सेकेण्ड समय लगाइन् । लुम्बिनीकी आरुशी भट्टराईले रजत र गण्डकी प्रदेशकी अनुष्का अधिकारीले कास्य पदक जितिन् । छात्र चारसय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण पदक जिते । उनले निर्धारित दुरी पूरा गर्न ५१.८९ सेकेन्ड समय खर्चे । गण्डकीका प्रकाश महतोले रजत र सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे ।
त्यस्तै, छात्र हाइजम्पमा वाग्मतीका अविनाश सुनारले स्वर्ण पदक जिते । उनले १.६८ मिटर जम्प गरे । सुदूरपश्चिमका उज्ज्वलकुमार विकले रजत र गण्डकीका विवेक महतोले कास्य पदक जिते । यसै स्पर्धाको छात्रामा १.३८ मिटर उचाइ जम्प गर्दै सुदूरपश्चिमकी सुस्मिता चौधरीले स्वर्ण जितिन् । गण्डकीकी सविता खातुन मियाले रजत र कर्णालीकी हीरा बुढाले कास्य पदक जिते ।
सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरीले स्वर्ण जिते । उनले १३.६१ मिटर टाढा फ्याले । लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका केशव विकले कास्य पदक प्राप्त गरे । उक्त स्पर्धाको छात्रामा वाग्मतीकी एलिना विकले स्वर्ण जितिन् । एलिनाले ८.६९ मिटर टाढा फालिन् ।
सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कास्य जिते । छात्रा एक हजार पाँचसय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक जितिन् । नारायणीले पाँच मिनेट ३.९ सेकेण्डमा दुरी तय गरिन् । वागमतीकी भगवती खड्काले र सुदूरपश्चिमकी देवकी धामीले कांस्य पदक जिते ।