
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई बुधबार नियन्त्रणमा लिएको छ ।
काठमाडौंको शंकरापुर नगरपालिका ५ पालुबारीबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुसकोट घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २२ वर्षीय सञ्जय तामाङ पक्राउ परेका हुन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५१ प २१ १९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४९प२८ ९६ राखी तामाङले मोटरासाइकल चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल दाङ घर भएका मिलन नेपालीले काठमाडौंको बालाजुबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरी उपरीक्षक गिरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै फोन गरेर वा नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।