site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध अम्पायरले किन नेपाललाई १० पेनाल्टी रन लगाए ?

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध अम्पायरले नेपाललाई १० पेनाल्टी रन लगाएपछि यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ । 

मंगलबार राति स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलको पहिलो इनिङमा नेपालले नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो । २३७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेदरल्यान्ड्सले दोस्रो इनिङ सुरु हुनुअगावै १० रन पाएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेदरल्यान्ड्सलाई किन दिइयो १० रन ?

दोस्रो इनिङमा नेपालबाट पहिलो ओभर बलिङका निम्ति आएका करण केसीले मेडन ओभर फ्याँके । तर, त्यसअघि नै अम्पायरले नेदरल्यान्ड्सलाई १० पेनाल्टी रन दिएकाले ओभर मेडन भए पनि स्कोरबोर्डमा डच टिमले पहिलो बलअगावै १० रन जोडेको थियो ।

खेलको पहिलो इनिङमा नेपालका मध्यक्रम ब्याटर बसिर अहमेदले पिचलाई असर पुर्‍याएको भन्दै अम्पायरले नेदरल्यान्ड्सलाई १० रन दिएका हुन् । १० रन दिनुमा अम्पायरले बसिर खेलको ३६.३ र ३९.२ ओभरमा दुईपटक पिचमा सोझै दौडिएको कारण देखाएका थिए । बसिरका कारण पिचको स्वाभाविक प्रकृतिलाई असर पुगेको भन्दै अम्पायरले यी दुई घटनामा समान पाँच पेनाल्टी रन डच टिमलाई प्रदान गरे । यसैकारण दोस्रो इनिङमा नेदरल्यान्ड्सले स्कोरबोर्डमा १० रनसहित ब्याटिङ सुरु गरेको थियो ।

एमसीसीको क्रिकेट नियमअन्तर्गतको नियम ४१.१४.१ मा पिचलाई क्षति पुर्‍याउने ब्याटरबारे उल्लेख गरिएको छ । जसअनुसार ‘पिचलाई जानाजानी वा रोक्न सकिने क्षति पुर्‍याउनु अनुचित हो । यदि स्ट्राइकर बल खेल्दा वा खेल्दै संरक्षित क्षेत्रमा प्रवेश गर्छ भने, ऊ तुरुन्तै त्यहाँबाट सर्नुपर्छ । यदि कुनै पनि अम्पायरले पिचमा उसको उपस्थिति उचित कारणबिना नै हो भन्ने ठान्यो भने ब्याटरले टार्न सकिने क्षति पुर्‍याएको मानिनेछ ।”

यस्तो अवस्थामा ब्याटिङ टोलीले रन लिन दौडिए अम्पायरले त्यसलाई खारेज गर्न सक्नेछन् । “बलरको छेउमा रहेको अम्पायरले ब्याटिङ पक्षलाई सबै रन दिन अस्वीकार गर्नेछ, कुनै पनि नटआउट ब्याटरलाई उसको/उनको पहिलेकै छेउमा फर्काउनेछ, लागु गर्न सकिने भएमा स्कोररहरूलाई नो बल वा वाइडको संकेत दिनेछ, फिल्डिङ पक्षलाई पाँच पेनाल्टी रन दिनेछ, लागु हुने अन्य कुनै पनि पाँच रनको पेनाल्टी दिनेछ, फिल्डिङ पक्षको कप्तानलाई जानकारी गराउनेछ, र सम्भव भएसम्म, ब्याटिङ पक्षको कप्तानलाई यो कार्यको कारणको बारेमा जानकारी दिनेछ,” एमसीसी क्रिकेट नियममा उल्लेख छ ।

पेनाल्टी रनका बाबजुद नेदरल्यान्ड्सलाई नेपालले १६ रनले पराजित गर्‍यो । यो लिग–२ मा नेपालको पाँचौँ जित हो । जितसँगै नेपालले १६ खेलबाट १२ अंक जोडेको छ । नेपाल तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्