
काठमाडौं । सेनेगल अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डलाई पराजित गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । मंगलबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सेनेगलले इंग्ल्यान्डविरुद्ध ३–१ को जित निकालेर इतिहास रचेको हो ।
इंग्ल्यान्डको सिटी रंगशालामा सेनेगललाई जित दिलाउन टोलीका स्माइले सार, हबिब डाइआरा र चेक साबालीले समान एक–एक गोल गरे । इंग्ल्यान्डका ह्यारी केनले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलको सातौँ मिनेटमा केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।
तर, सेनेगलले ४०औँ मिनेटमा स्माइले सारको गोलमा बराबरी गर्यो । ६२औँ मिनेटमा टोलीका डाइआराले अग्रतालाई २–१ मा पुर्याए । खेलको इन्जुरी समयमा साबालेले टोलीको निम्ति अन्तिम गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
खेलपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले टोलीले अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा हार बेहोरेको बताए । टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले बेहोरेको यो पहिलो हार हो ।
“निराशाजनक हार बेहोर्यौँ । हामीले योभन्दा सुखद नतिजा निकाल्न सक्थ्यौँ । अहिले असन्तुष्टि महसुस भइरहेको छ । लामो समयपछि खेल खेल्दा टोली जागरुक देखिएन,” सञ्चारकर्मीसँगको कुराकानीमा टुचेलले भने, “हामीले बेहोरेको पहिलो दुवै गोल निकै सहज गोल थियो । टोलीले जवाफी गोल फर्काउनुपर्थ्यो । हामीसँग धेरै अवसर थिए ।”
इंग्ल्यान्डका कप्तान केनले पनि टोलीले नियमित लय कायम गर्न नसकेको स्वीकार गरे । “यो लय पर्याप्त छैन । हामीसँग अवसर थिए । तर, बललाई दिशा दिन चुक्यौँ । हामीले हाम्रो लय हरायौँ । हामीले आफ्नो आक्रामक खेललाई नियमित लयमा राख्न सकेनौँ,” केनले भने, “खेल अवसरको संयोजन हो । हामीले त्यो लयलाई तत्कालै फर्काउनुपर्छ । विश्वकप नजिकै आइसक्यो । त्यसैले हरेक खेल महत्त्वपूर्ण छ ।”
जितसँगै सेनेगलले आफ्नो अपराजित यात्रालाई २४ खेलसम्म लम्बाएको छ ।