
काठमाडौं । मध्यम गतिका बलर नन्दन यादवले स्कटल्यान्डमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका छन् । मंगलबार (जेठ २७) आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा यादवले डेब्यु गरेका हुन् ।
उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यु क्याप हस्तान्तरण गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गर्ने उनी ४२औँ खेलाडी हुन् ।
जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाएका थिएनन् । तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन् ।
अभ्यासका क्रममा सोमपाल घाइते भएका नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन् । सोमपालको दायाँ हातमा र गुल्सनको घुँडामा चोट लागेको छ । रासस