
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको दुई प्रतिशत विलासिता कर फिर्ता लिन माग गरेका छन् । बिहीबार (जेठ २२) राष्ट्रियसभा बैठकमा उनले उच्च मूल्यवृद्धि र आर्थिक मन्दीले सुस्ताएको सुन व्यवसाय विलासिता करका कारण थप संकटमा पर्ने बताएका हुन् ।
भारतमा सुन र हिराका गहना नेपालमा भन्दा ५.७ प्रतिशत सस्तो हुने उनले उल्लेख गरे । सोही कारण अवैध कारोबार बढ्ने खतरा रहेको उनले बताए ।
गहना उद्योग धराशायी भएको अवस्थामा न्यून आय भएका नेपालीले यो खरिद गर्न नसक्ने स्थिति सिर्जना सरकारले गर्न नहुनेमा उनले जोड दिए ।
“त्यसकारण सुनका गहनामा लगाइएको विलासिता कर फिर्ता लिन, सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न, राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछु,” उनले भने । न्युज एजेन्सी नेपाल