
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक विषयमा छलफल हुने भए पनि मूलतः भातृ संस्थाका विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । बैठक सोमबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
यही जेठ १२ गते सभापति देउवाले निवासमै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका थिए । यक्त बैठकमा भिजिट भिसा विवादमा तानिएका गृहमन्त्री रमेश लेखकका विषयमा छलफल केन्द्रित थियो । उक्त छलफलमा लेखकले आफ्ना बारेमा उठिरहेका प्रश्न, संलग्नताका विषयमा ब्रिफिङ गर्दै नेता डा. शेखर कोइरालामाथि गम्भीर गुनासो राखेका थिए । उनले आफूले समेत मान्ने नेता डा. शेखर कोइरालाले सार्वजनिक रूपमा राजीनामा मागेको भन्दै नेता कोइरालाले राजीनामा माग्ने भए आफैँलाई फोन गरेर भन्न सक्ने बताएका थिए ।
लेखकको उक्त भनाइपछि डा. शेखर तथा अन्य दुई सांसद राजेन्द्र बजगाईं तथा सुनिल शर्माको आलोचनामा उत्रिएका थिए । उनीहरूले पार्टीको मर्यादा नै खलल पार्ने गरी नेताहरू प्रस्तुत भएका भन्दै सभापति देउवालाई उनीहरूको स्पष्टीकरण सोध्न र कारबाही गर्न माग गरेका थिए । त्यसले कांग्रेसभित्रको विवादलाई थप छताछुल्ल बनाइदिएको थियो ।
तर, डा. शेखरले भने विराटनगर जानुअघि शुक्रबार नै लेखकसँग सामाजिक सञ्जाल र मिडियामा आइरहेको विषयमा कुराकानी गरेको सचिवालयले बताएको छ । उनले लेखकलाई विवादित हुने विषय किन र कसरी आइरहेको छ भनेर जिज्ञासा राखेका थिए । त्यसमा लेखकले आफू त्यस्ता मामिलामा संलग्न नभएको र जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको बताएका थिए ।
“त्यसो भए तपाई ‘अहिलेसम्म क्लि इमेज भएको व्यक्ति राजीनामा दिनुस् र छानबिनपछि पुनः आउने अवस्था निर्माण गर्नुस्’ भनेर डा. साव (डा. शेखर कोइराला)ले भन्नुभएको थियो, राजीनामाको आशय इमेज क्लिन राख्नेसँग सम्बन्धित थियो,” कोइरालानिकट स्रोतले भन्यो, “तर, पदाधिकारी बैठकमा उहाँले आफूले फोन गरेर सोध्नुपरेको भनेर गलत ब्रिफिङ गर्नुभएछ ।”
बैठकमा तीव्र विवाद भए पनि सभापति देउवाले भने उनीसहित प्रश्न उठेका कसैलाई पनि स्पष्टीकरण सोधेका छैनन् । स्पष्टीकरण नसोध्दै बस्न लागेको अर्को पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा त्यो विषयको कसरी सम्बोधन हुन्छ भन्ने निश्चित भइसकेको छैन । प्रवक्ता डा. महत भने उक्त विषय उठ्न वा नउठ्न पनि सक्ने बताउँछन् ।
नेपाली कांग्रेसको विधानले पदाधिकारी बैठक, पूर्वपदाधिकारी बैठक वा संयुक्त बैठकलाई मान्यता नदिए पनि सभापति देउवाले यस्तै बैठकबाट निर्णय गराउँदै आएका छन् । पदाधिकारी र पूर्वपदाधिकारीबाहेक केही व्यक्ति मात्र रहने कार्यसम्पादन समितिलाई केन्द्रीय समिति बैठक नबसेका विषयमा निर्णय गर्ने अधिकार पार्टी विधानले दिए पनि देउवाले आक्कलझुक्कल मात्र कार्यसम्पादन समिति बैठक बोलाउँदै आएका छन् ।