
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् ।
आइतबार (जेठ १८) काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको आन्दोलनलाई जवाफ दिने सरकारको इच्छाशक्ति नभएको जिकिर पनि गरे ।
“सरकारको त कुनै हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन । गफ हाँक्नेबाहेक केही छैन,” उनले भने, “उनीहरूले गफ गरे, हामीले एक लाख मान्छे उतार्यौँ । काठमाडौं कब्जाको गफ गरे, देशदुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई मतलबको कुरा छैन ।”
उनले राजावादीको आरोपको खण्डनका निम्ति गाउँगाउँ जाने कार्यक्रम बनाउन वाईसीएललाई निर्देशन दिए । शान्तिपूर्ण रूपमा राजावादीविरुद्ध जाइलाग्न समेत उनले निर्देशन दिए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको कब्जामा लिन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । एमालेले त्यस दिन गणतन्त्र दिवस उत्सव भन्दै काठमाडौंमा सांस्कृतिक र्याली निकालेको थियो ।