site stats
बाह्रखरी :: Baahrakhari
देश
एक लाख ७० हजार विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्त्वपूर्ण भूमिका हुने भएकोले देशभर करिब एक लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ । समुदायस्तरमा विपद्सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रूपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागेको छ ।

यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरूमा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नुपर्ने हुन्छ । जसअनुसार देशभरका ६ हजार ७४५ वडामा २५ जनाको दरले एक लाख ६८ हजार ५७५ जना विपद् सूचक तयार गरिने सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता कालीदास धौबजीले जानकारी दिए ।  

Argakhachi Cement Island Ad

यसबाट विपद्सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोहीअनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्धारमा सहजता हुने विश्वास मुख्यालयको छ । विपद् सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेसन अभ्यासमा सहभागी गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ । 

यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्धारका पनि तयार गर्दै छ । गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करिब एक हजार समुदाय विपद् उद्धारक तयार गर्ने योजना सार्वजनिक गरेका थिए । 

जसअनुसार मुख्यालयले यसको तयारी स्वरुप मातहत कार्यालयमा विपद् उद्धारक स्वयंसेवक तालिम पनि सुरुआत गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइनेछ । त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन् । 

प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम सञ्चालन गर्नेछन् भने अन्य १४७ वटा तालिम आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिनेछ । यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्धार तथा राहतको कार्यमा सहजता समेत हुनेछ । 

सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम सुरुआत भएको छ । स्थानीय सरकार तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा गणले ५८ जनाको लागि तालिम सञ्चालन गरेको हो । 

तालिमको क्रममा स्थानीय पालिकामा रहेका र अपुग भएमा सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयमा रहेका विपद् उद्धारका सामग्री प्रयोग गरिनेछ । तालिमका लागि दक्ष प्रशिक्षकको व्यवस्था प्रशिक्षण प्रतिष्ठान तथा बाहिनी मुख्यालयहरूले गर्नेछन् भने प्राकृतिक विपद् जोखिम रहेका पालिकाहरूमा यसप्रकारको तालिम दोहोर्‍याएर समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्