
काठमाडौं । सगरमाथा आरोहण मे महिनाको अन्त्यसँगै सकिन्छ । यो मे महिनामा सयौँ पर्वतारोही र उनीहरूका शेर्पा गाइड कठोर मौसमको सामना गर्दै संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।
केही पर्वतारोही मेको मध्यतिर शिखरमा पुग्न सफल भएका थिए । तर, मौसम दिनहुँ प्रतिकूल हुँदा धेरैजना आधार शिविरमै फर्कनुपरेको थियो । तीमध्ये एक थिए, कामीरिता शेर्पा । उनी ३१औँपटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोड्ने प्रयासमा थिए ।
उनी मे २७ मा ८,८४९ मिटर (२९,०३२ फिट) उचाइको शिखर सफलतापूर्वक चढ्न सफल भए । तर, धेरै पर्वतारोही यति भाग्यमानी भएनन् ।
पर्वतारोहण विभागका अनुसार, मे महिनाको अन्त्यसम्म ५७ देशका ४६८ विदेशी पर्वतारोहीलाई सगरमाथा आरोहण अनुमति दिइएको थियो । करिब उही संख्यामा नेपाली गाइड पनि थिए ।
शिखरतिरको मौसम अनुकूल हुने समय छोटो अवधिका निम्ति मात्र हुन्छ । सोही कारण एकल सुरक्षा डोरीमा सयौँ पर्वतारोही एकैपटक लाइन लागेर सगरमाथाको चुचुरोमा उक्लने गर्छन् । एकैपटक धेरै चढ्ने भएकाले यो अवस्थालाई सगरमाथा ‘ट्राफिक जाम’ भनिन्छ ।
“सगरमाथामा मौसम मुख्य कुरा हो । तर, यो वर्ष पूर्वानुमानानुसार भएन । दोस्रो कुरा, धेरै भीड थियो । किनभने, व्यावसायिक र नयाँ दुवै पर्वतारोही एकैपटक आएका थिए,” गाइड पासाङ रिन्जी शेर्पाले भने ।
उनले थपे, “केही नयाँ पर्वतारोहीका कारण गति ढिलो भएको हो ।”
पासाङ रिन्जीले यसअघि दुईपटक शिखर चढिसकेका छन् । तर, योपटक बिरामी परेपछि नचढी फर्कनुपर्यो ।
उनले भने, “सगरमाथाको खुम्बु क्षेत्रको नामबाट चिनिने खुम्बुमा खोकी र फ्लुका थुप्रै घटना देखिएका थिए । यसले उच्च उचाइमा पर्वतारोहीलाई प्रभावित गर्छ । सोही कारण यसपालि केही पर्वतारोही र गाइडले आफ्नो आरोहण स्थगन वा रद्द गरेका थिए ।”
सुरक्षा र सजिलोका निम्ति योग्य पर्वतारोहीलाई मात्र सगरमाथा चढ्न अनुमति दिनुपर्ने पासाङ बताउँछन् । उनले भने, “सगरमाथा चढ्न अनुमति पाउनका निम्ति योग्यता भएका पर्वतारोही मात्र हुनुपर्छ, जसले गर्दा अनुभव सुरक्षित र सजिलो होस् ।”
उनले थपे, “अहिले त अनुभव नभएका नयाँ र व्यावसायिक पर्वतारोही सँगसँगै चढिरहेका छन् । यसैले समस्या ल्याएको हो । पर्वत चढ्दाको बेला गियर कसरी चलाउने भन्ने आधारभूत ज्ञान सबै पर्वतारोहीसँग हुनैपर्छ ।”
६ पटक सगरमाथा चढेका जेनजेन लामा भन्छन्, “मौसम अचानक परिवर्तन भएका कारण यो वर्ष मौसम नै सबैभन्दा ठूलो चुनौती बन्यो ।”
“पूर्वानुमान राम्रो आउँथ्यो, तर वास्तविक दिनमा मौसम हरेक घण्टा प्रतिकूल हुँदै जान्थ्यो,” उनले भने ।
यसैबीच, बिहीबार अर्थात् मे २९ मा सगरमाथामा पहिलोपटक विजय प्राप्त गरिएको ७२औँ वार्षिकोत्सव हो । यो दिन न्युजिल्यान्डका एडमन्ड हिलारी र उनका शेर्पा गाइड तेन्जिङ नोर्गेले सन् १९५३ मा पहिलोपटक सगरमाथा चढेका थिए । एपीबाट ।