
काठमाडौं । वाग्मती प्रदेश युवा पत्रकारिता पुरस्कार रामचन्द्र अर्यालले पाएका छन् । गणतन्त्र दिवस–२०८२ को अवसरमा प्रदेश सरकारबाट दिइने उक्त पुरस्कार हिमालय टेलिभिजनमा कार्यरत अर्याललाई हेटौँडामा आयोजित गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित प्रदान गरिएको हो ।
प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले अर्याललाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
२०६२/०६३ को जनआन्दोलनका घाइते समेत रहेका पत्रकार अर्याल २०६५ देखि निरन्तर पत्रकारितामा छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका अर्याल सात वर्षदेखि हिमालय टेलिभिजनमा कार्यरत छन् । माउन्टेन टेलिभिजनमा करिब आठ वर्ष काम गरेका अर्यालले विभिन्न पत्रपत्रिका र अनलाइनमा समेत काम गरेका छन् ।
उनी हाल नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव हुन् । सम्मानपछि पत्रकार अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्रलई संस्थागत र बलियो बनाउन पत्रकारितामार्फत थप भूमिका खेल्न प्रेरित गरेको बताए ।