site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटबारे निजी क्षेत्र– अधिकांश सुझाव समेटिए, समग्रमा राम्रो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताएका छन् । बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै उनले निजी क्षेत्रका धेरै कुरा समेटिएको बताएका हुन् ।

बजेटले वैदेशिक लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे । उनले यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास गरिएको बताए ।

Argakhachi Cement Island Ad

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै विषय राम्रो भए पनि राजस्व मुख्य चुनौती हुन सक्ने बताए । समग्रमा बजेट राम्रो रहेको उनले उल्लेख गरे ।

युवापुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो रहेको उनले प्रतिक्रिया दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रूपमा लिएको बताए । कार्यक्रम सबै राम्रा रहेका तर बाँकी विषय आर्थिक ऐन आएपछि थाहा हुने उनले उल्लेख गरे ।

राजस्व उठाउने विषयमा कर्मचारीले राम्रो नियतले काम गरिदिए अरू विषयमा बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाइ थियो ।

निजी क्षेत्रका मागलाई अर्थमन्त्रीले सकारात्मक रूपमा लिएर बजेटमा समावेश गरेको उनले बताए ।

बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीले यो समग्रमा आशालाग्दो रहेको र बाँकी विषय आर्थिक ऐन आएपछि मात्र प्रतिक्रिया दिन सकिने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्