site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने
फाइल तस्बिर ।

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने भएको छ । बिहीबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेट वक्तव्यमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप विद्युतीय बस उपलब्ध गराइने बताएका हुन् ।

“सवारी प्रदूषण मापनका लागि आधुनिक प्रविधिको उपयोग गरिनेछ,” उनले भने, “सार्वजनिक यातायातको यात्रु चापलाई व्यवस्थित गर्न सहरी क्षेत्रमा मास ट्रान्सपोर्ट सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।”

Argakhachi Cement Island Ad

सडक दुर्घटना न्यूनीकरणका निम्ति ‘रिफ्रेस सेन्टर’ सञ्चालन गरिने, सबै प्रकारका सवारीसाधनको नियमित रूपमा परीक्षण हुनुपर्ने व्यवस्था मिलाइनुका साथै तेस्रो पक्ष बिमालाई समयसापेक्ष बनाउँदै लगिने बजेटमा उल्लेख छ ।

मन्त्री पौडेलले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने र निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आकर्षित गरिने बताए ।

“काठमाडौं उपत्यकालगायत ठूला सहरमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइनेछ । प्रदेशस्तरबाट सवारीचालक अनुमतिपत्र वितरण हुने व्यवस्था मिलाइनेछ,” उनले भने, “काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रोरेल, मोनोरेलजस्ता विकल्पहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।”

सवारी दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न राष्ट्रिय सडक सुरक्षा मापदण्ड निर्धारण गरिनेछ । प्रमुख राजमार्गमा शीघ्र उद्घारका निम्ति हेलिकोप्टर, विशिष्टिकृत एम्बुलेन्स, ट्रमा उपचारलगायत आपतकालीन सेवा उपलब्ध हुने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्