
काठमाडौं । सरकारले खानेपानी मन्त्रालयका निम्ति ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार (जेठ १५) आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
आउँदो आर्थिक वर्षमा ठूला खानेपानीका आयोजना सम्पन्न भई ३७ प्रतिशत जनसंख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुने उनले उल्लेख गरे । ९८ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्ने उनले बताए ।
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स विपद् जोखिमका दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिने उनले जानकारी दिए ।
सुन्दरीजलमा थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने उनले बताए ।
काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ । यसका निम्ति ६ अर्ब ३७ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।
आउँदो आर्थिक वर्षमा तराई/मधेसका २८० अधुरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने उनले बताए । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने उनले उल्लेख गरे ।
विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनर्स्थापना गरिने र यसका निम्ति ४१ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । न्युज एजेन्सी नेपाल