
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर घाटा बढ्दै गएको वार्षिक समीक्षामा उल्लेख छ ।
यसैगरी, खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल निरन्तर खुद नोक्सानमा छन् । उक्त अवधिमा खानेपानी संस्थान एक अर्ब ११ करोड १४ लाख, हेटौँडा सिमेन्ट उद्योग एक अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामाग्री एक अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण नेपाल दुई अर्ब ४७ करोड चार लाख रुपैयाँ सञ्चित नोक्सानीमा छन् ।
यी संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणहरूमा क्रमशः उच्च महसुल बक्यौता एवं कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित मिडिया परिवेशमा प्रतिस्पर्धात्मकता गुमाउनु रहेका पनि उल्लेख छ ।
कमजोर बजारीकरण, मागभन्दा बढी उत्पादन र समग्र व्यवस्थापकीय कमजोरीका कारण दुग्ध विकास संस्थान वित्तीय रूपमा समस्याग्रस्त छ । ऋणको साँवा ब्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समग्र सार्वजनिक संस्थानको खुद तथा सञ्चित नोक्सान बढ्दै गएकोले वित्तीय जोखिम बढाएको छ ।