site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी समूहको प्रदर्शनमा तीनकुनेकाे त्रास, न्यून उपस्थितिको आकलन

काठमाडौं । राजावादीहरूले बिहीबार (जेठ १५ गते) आयोजना गरेको प्रदर्शन प्रभावहीन हुने देखिएको छ । सुरक्षा संयन्त्रले पाएको सूचनाअनुसार, आजको प्रदर्शनमा पाँच हजार प्रदर्शनकारी समेत सहभागी हुन मुस्किल देखिएको गृह मन्त्राललाई रिपोर्टिङ भएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिले आयोजना गरेको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले सहभागी जनाउने छ । 

Argakhachi Cement Island Ad

दिउँसो २ बजेदेखि प्रदर्शनको समय तोकिए पनि प्रदर्शनकारीको उपस्थिति भने न्यून देखिएको छ ।

प्रहरीले प्रदर्शन अराजक नहोस् भनेर बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाएको छ । प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरबाट फाटफुटबाहेक ठूलो संख्यामा प्रदर्शनकारी आएका छैनन् ।

प्रहरीले केही दिनदेखि नै राजावादीहरूको प्रदर्शनलाई उच्च निगरानीमा राखेको थियो । राजावादी समूहले रत्नपार्कमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने गरी बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराएका थिए । उनीहरूलाई सोहीअनुसारको व्यवस्था गरिएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

सुरक्षा अधिकारीका अनुसार, चैत १५ गते तीनकुनेको प्रदर्शन अराजक बनेपछि प्रहरीले बल प्रयोग मात्रै होइन अराजक गतिविधिमा संलग्नमाथि कानुनी कारबाही समेत गरेको थियो । उनीहरू अझै प्रहरीको थुनामा छन् । सोही त्रासले आजको प्रदर्शनमा प्रदर्शनकारीको उपस्थिति न्यून हुने अनुमान सुरक्षा संयन्त्रको छ ।

प्रदर्शन अराजक बनाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईं र सन्तोष सिलवाल (राजावादी)सहितका व्यक्ति थुनामा रहेका कारण पनि प्रदर्शन प्रभावहीन हुने दाबी सुरक्षा निकायको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्