
काठमाडौं । १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
दिवसका अवसरमा गणतन्त्र दिवस २०८२ मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८२ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–संगीतका धुन प्रस्तुत गरेका थिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल , उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकअघिदेखि गणतन्त्र दिवस मनाउँदै आइएको छ ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।