
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्ने भएका छन् ।
यस्तै, बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ । स्रोतको चापमा परेका बेला सरकारलाई ठूलो आकारको बजेट ल्याउन सकस परेको छ ।
अर्थतन्त्र सुस्त गतिमा भएकाले राजस्व वृद्धि घटेर ११ प्रतिशत हाराहारीमा रहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले धेरै नीतिगत व्यवस्था गर्ने अनुमान गरिएको छ । बजार चलायमान नहुँदा उत्पादन घटेको र यसले समग्र अर्थतन्त्रमा असर गरेको छ । जसले गर्दा लगानीकर्ता र आमसर्वसाधारणमा निराशा देखिएको छ । अर्थतन्त्र सुस्त भएर बजारमा माग घटेपछि व्यवसायीको मनोबल खच्किएको छ । बजारमा माग बढाएर अर्थतन्त्र गतिशील बनाउन व्यवसायीको मनोबल उठाउनुपर्ने चुनौती छ ।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र चलायमान बनाएर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न पोलिसी डिपार्चर गर्ने संकेत गरेका छन् ।
पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको धेरै सुझावलाई बजेटमा समावेश गरिएको छ । यस्तै, सरकारले आयोगको सुझाव कार्यान्वयनका लागि कार्ययोजना समेत स्वीकृत गरेको छ ।