
विराटनगर । विराटनगरमा जोखिम महसुस गरे परैबाट विष फाल्ने स्पिटिङ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो ।
यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ ।
विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् ।
चिकित्सकका अनुसार यो सर्पको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्नसक्छ । विराटनगरका अन्य स्थापनमा पनि यस्ता सर्प फेला परे खबर गर्न महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचित गरेको छ ।
तराई मधेसमा गर्मी मौसममा सर्पदंशको जोखिम बढ्ने महाशाखाले जनाएको छ ।