
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोधलक्षित नभएको बताएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टीका विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रूपमा मनाउन लागेको जानकारी दिए । “जनताको बलिदानी संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रूपमा झाँकीसहित मनाउन लागेको हो,” उनले भने ।
महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको उल्लेख गरे । उनले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा लड्ने पार्टी एमाले भएका कारणसबैभन्दा बढी प्रहार एमालेमाथि नियोजित ढंगले भइरहेको उनको भनाइ छ । रासस