site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रशिक्षक कटुवाल भन्छन्– तयारी राम्रो हुँदा नतिजा राम्रो आयो

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज कटुवालले तयारी राम्रो हुँदा टोलीले राम्रो नतिजा ल्याएको बताएका छन् । 

नेपाली महिला क्रिकेट टिम आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक कटुवालले यस्तो बताएका हुन् । 

उनले आईसीसी टी–२० विश्वकपको एसिया छनोटअघि क्यानले तयारीका निम्ति पर्याप्त समय उपलब्ध गराउँदा टिमलाई सहज भएको जनाए ।

“टिमको प्रदर्शन राम्रो रह्यो । यसपटक हामीलाई क्यानले पनि बन्द प्रशिक्षणका निम्ति केही लामो समयावधि प्रदान गरेको थियो,” प्रशिक्षक कटुवालले भने, “थाइल्यान्डमा धेरै गर्मी छ भन्ने थाहा थियो, त्यसैले हामीले भैरहवामा प्रशिक्षण गर्‍यौँ । त्यसपछि दिल्लीमा पनि राम्रो टिमसँग खेल्यौँ ।”

तयारी राम्रो गरेका कारण नतिजा पनि राम्रो आएको उनले बताए । “हामीले अझै धेरै सुधार गर्नुपर्नेछ । ब्याटिङमा अझै पनि राम्रो टिम आयो भने केही कमजोर बन्छौँ,” प्रशिक्षक कटुवालले भने, “ग्लोबल क्वालिफायर खेल्न पाँच–छ महिनाको लामो समय पनि बाँकी छ । त्यतिबेलासम्म हामी टिमको कमजोरी सुधार्ने प्रयास गर्नेछौँ ।”

नेपाली टिमले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

सुपर–३ को अन्तिम खेलमा भने नेपाली टिम थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो । त्यसअघि, समूह चरणका चार खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको थियो । यस्तै, एक खेलमा पराजित हुँदा एक खेल भने रद्द भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्