
कठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार एक स्कुल बसलाई लक्षित गरेर गराइएको आत्मघाती कार बम विस्फोटमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । अन्य ३८ जना घाइते भएका छन् ।
स्थानीय एक सरकारी अधिकारीका अनुसार, खुडुजार सहरको बाहिरी क्षेत्रमा सेनाद्वारा सञ्चालित स्कुलमा बसले बालबालिकालाई लैजाँदै गर्दा घटना भएको हो । घटनालगत्तै सेनाको टोली घटनास्थलमा पुगेका थियो । घाइतेहरूलाई एम्बुलेन्सबाट तत्काल अस्पताल पठाइएको थियो ।
धेरै बच्चा गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
यस प्रान्तमा लामो समयदेखि विद्रोह चल्दै आएको छ । यहाँ स्वतन्त्र देशको माग गर्दै विभिन्न समूह सक्रिय छन् । तीमध्ये अमेरिकाले सन् २०१९ मा आतंकवादी समूह घोषणा गरेको बलुचिस्तान लिबरेसन आर्मी पनि समावेश छ ।
अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले आक्रमणको कडा निन्दा गर्दै बच्चाहरूको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले निर्दोष बच्चाहरूलाई निसाना बनाएर पूर्णरूपमा बर्बरतापूर्ण काम गरेको बताए ।
पाकिस्तानको सेनाले एक वक्तव्यमार्फत बम आक्रमणलाई कायरतापूर्ण काम भनेको छ । उसले आक्रमणको पछाडि छिमेकी देश भारत संलग्न रहेको आरोप लगाएको छ । भारतले बलुचिस्तानमा रहेका आफ्ना सहयोगीमार्फत आक्रमण गराएको सेनाको आरोप छ ।
एपीबाट ।