
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफलपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छिन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको दाबी गरिन् ।
एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनले बताइन् । पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भएको उनले उल्लेख गरिन् ।
वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको उनले जानकारी दिइन् ।