
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने बताएका छन् । युरोपियन युनियन (ईयू)को प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा उनले उक्त कुरा बताएका हुन् ।
“सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गर्नुभयो,” प्रधानमन्त्री ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकैपटक नेपाल आएका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरेका थिए ।
जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको भेटमा उनले स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास व्यक्त गरेका थिए ।
युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए ।
उनीहरूले नेपालले संक्रमणकालीन न्यायलाई अन्तिम टुुंगोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।