site stats
बाह्रखरी :: Baahrakhari
देश
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्रकेन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्नेमा जोड

काठमाडौं । सगरमाथा संवादले हिमाली क्षेत्रकेन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्वका नेताहरू एकमत भएका छन् । सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरूले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । 

साथै, जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औसत तापमान १.५ डिग्रीबाट बढ्न नदिनको लागि सबै राष्ट्रहरूले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ । 

हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वतसम्बन्धी छलफलहरू थप विस्तार गर्दै लगिने कुरामा जोड दिइएको छ । विपद् पूर्वसूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ । 

जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रस्ताव पनि घोषणापत्रमा गरिएको छ ।

हिमाली क्षेत्रमा बसोवास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव व्यहोरिरहेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय, आदिवासी, महिला, युवा, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिइएको छ । 

सगरमाथा संवादमा विशेष रूपमा हिमाल केन्द्रित बहु–सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पुर्‍याउने प्रतिबद्धता जनाइएको छ । सगरमाथा संवादले स्थायी रूपमा हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडि बढाउने लक्ष्य राखिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्