
काठमाडौं । रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ लम्बिँदा ३६ मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा शुक्रबार ४२ मुद्दा पेसीमा चढेका थिए । त्यसमध्ये पाँच मुद्दा पक्षहरूबाटै स्थगित भए भने मिश्रको एक मुद्दामा तामेलीको आदेश भयो । मिश्रको सुनुवाइ लम्बिँदा बाँकी सबै मुद्दा हेर्न नभ्याइनेमा परेका हुन् ।
गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोेलनका क्रममा भएको तोडफोड, आगजनीसहितमा प्रदर्शनकारीलाई उक्साएको आरोपमा सोही दिन पक्राउ परेका मिश्र अदालतको आदेशमा म्याद थप हुँदै थुनामा छन् ।
थुनाविरुद्ध ४५औँ दिन (मंगलबार) उनकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उक्त मुद्दामा बुधबार सरकारका नाममा कारण देखाउँ आदेश जारी गर्दै बन्दी उपस्थित गराउन न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आदेश गरेको थियो ।
उक्त आदेशअनुसार बिहीबार अदालतमा उपस्थित गराएर थुनामा फर्काइएका मिश्रलाई शुक्रबार इजलासमै बयान गराएर सुनुवाइ सुरु भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।