
काठमाडौं । नेपाली पारम्परिक कलाको संरक्षण र प्रवर्द्धनको उद्देश्यले हिमालयन आर्ट काउन्सिलले ऐतिहासिक थांका र पौभा कला प्रदर्शनीको आयोजना गरेको छ । बुधबारदेखि पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा सुरु भएको प्रदर्शनीमा थांका र पौभा कलाका ५० भन्दा बढी मौलिक कृति समावेश गरिएको छ ।
प्रदर्शनीमार्फत नेपाली कलाको गहिरो आध्यात्मिक महत्त्व र सांस्कृतिक समृद्धिलाई उजागर गर्ने उद्देश्य लिइएको काउन्सिलले जनाएको छ । यस अवसरमा नेपाली कलालाई नक्कलीपन, गलत श्रेय र कलाकारको शोषणबाट जोगाउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) र ब्लकचेन प्रविधिमा आधारित नयाँ डिजिटल प्लेटफर्म समेत सार्वजनिक गरिएको छ । यसबाट कलाकारले आफ्नो कला कहाँ पुगेको छ भन्ने पत्ता लगाउन सक्छन् ।
काउन्सिलका अनुसार, प्रविधिमा आधारित यो पहलले कलाकार, संकलक र संग्र्रहालयहरूलाई कलाकृतिको प्रमाणीकता र इतिहास सुरक्षित राख्न सहयोग पुर्याउनेछ । साथै, यसबाट भविष्यमा पनि रोयल्टी पाउने बताइएको छ ।
प्रदर्शनीकी क्युरेटर मीना लामाले भनिन्, “हरेक थांकाका चित्रकला हाम्रो संस्कृति, गुरु–शिष्य परम्परा र आध्यात्मिक कथाहरूको जीवन्त प्रतिबिम्ब हो । धेरैजसो कलाकारहरू बेनाम रहने, सिर्जनाको उचित मूल्य नपाउने समस्यालाई अन्त्य गर्ने प्रयास हो ।”
प्रदर्शनीको उद्घाटन विशेष कार्यक्रम बुधबार सम्पन्न भएको छ । यस्तै, बिहीबार र शुक्रबार सर्वसाधारणका लागि खुला गरिएको छ ।