site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले इरानको एक आणविक केन्द्रमा बी२ बंकर–बस्टर बम प्रयोग नगरेको खुलासा

काठमाडौं । अमेरिकी सेनाले गएको साता इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा बंकर–बस्टर बम प्रयोग नगरेको त्यहाँका शीर्ष जनरलले बिहीबार सिनेटरलाई ‘ब्रिफिङ’मा बताएका छन् । उक्त स्थल धेरै गहिरो भएका कारण बंकर–बस्टर बम प्रभावकारी नहुने सम्भावना रहँदा त्यो प्रहार नगरिएको जनाइएको सीएनएनले उल्लेख गरेको छ ।

जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले अमेरिकी सेनाले मध्य इरानको इस्फहानस्थलमा मासिभ ओर्डनान्स पेनेट्रेटर बम प्रयोग नगरेको बताए । इस्फहानको भूमिगत संरचनामा इरानको करिब ६० प्रतिशत समृद्ध युरेनियम भण्डार रहेको अमेरिकी अधिकारीको भनाइ छ । त्यो इरानलाई आणविक हतियार बनाउन आवश्यक हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिकी बी२ बमवर्षकले इरानका फोर्डो र नटान्ज आणविकस्थलमा एक दर्जनभन्दा बढी बंकर–बस्टर बम खसालेका थिए । इस्फहानमा भने अमेरिकी पनडुब्बीबाट प्रक्षेपित टोमाहक मिसाइलले आक्रमण गरिएको थियो ।

सांसदहरूलाई दिइएको गोप्य ब्रिफिङ जनरल केन, रक्षामन्त्री पिट हेगसेथ, विदेशमन्त्री मार्को रुबियो र सीआईए निर्देशक जोन र्‍याटक्लिफले सञ्चालन गरेका थिए ।

कंग्रेसलाई दिइएको गोप्य ब्रिफिङमा टिप्पणी गर्न नसक्ने केनका प्रवक्ताले बताएका छन् ।

डेमोक्रेटिक सिनेटर क्रिस मर्फीका अनुसार, इरानका केही आणविक केन्द्र निकै भूमिगत रहेकाले तीसम्म कहिल्यै पुग्न नसक्ने बताइएको छ । त्यहाँ अमेरिकी बम प्रहारको क्षमता पुग्दैन । इरानसँग धेरै हतियार सुरक्षित स्थानमा सार्ने क्षमता भएको पनि बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्