site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशस्थित नेपाली १२ नियोगको बदमासी– ७२ करोडभन्दा बढी रकम राजस्व खातामा राखेनन्

काठमाडौं । विदेशस्थित १२ वटा नेपाली नियोगले ७२ करोड २९ लाख ६० हजार रुपैयाँ रकम राजस्व खातामा नराखेको पाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ का आर्थिक गतिविधि समेटेर महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औँ वार्षिक प्रतिवेदनमा नियोगहरूको उक्त बदमासी औंल्याइएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ५८(१) बमोजिम नेपाल सरकारलाई प्राप्त भएका सबै राजस्व तोकिएको खातामा जम्मा गर्नुपर्दछ ।

आर्थिक वर्ष २०८०/८१ मा विदेशस्थित ३९ वटा नेपाली नियोगबाट पाँच अर्ब ६३ करोड ९४ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

उक्त आर्थिक वर्षको असार मसान्तसम्म चार अर्ब सात करोड ७६ लाख ८१ हजार रुपैयाँ निकासाबाट कट्टी गरिएको थियो र एक अर्ब ५६ करोड १७ लाख ४३ हजार बाँकी राजस्व खातामा दाखिला गर्न बाँकी रहेको थियो ।

“सोमध्ये १२ नियोगले पनि २०८१ फागुन मसान्तसम्म ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व खातामा दाखिला गरेको नदेखिएकोले सो रकम सञ्चित कोष दाखिला गर्नुपर्दछ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।

नियोगमा एक आर्थिक वर्षमा असुल भएको राजस्व सोही आर्थिक वर्षभित्र सञ्चित कोष दाखिला गर्ने व्यवस्था गर्नुपर्ने भनाइ महालेखाको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्