site stats
बाह्रखरी :: Baahrakhari
देश
मध्ये र पश्चिम तराईमा गर्मी बढ्ने, तीनवटा प्रदेशमा मध्यम वर्षा
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तराईमा गर्मी बढ्दा पहाडी भूभागमा भने वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको तराई क्षेत्रबाहेक मध्ये र पश्चिम तराईमा भने गर्मी बढ्ने मौमसविद्को भनाइ छ । 

“कोसी प्रदेशको तराई भूभागमा बाहेक अन्य प्रदेशका तराई क्षेत्रमा अबका केही दिन गर्मी हुने देखिन्छ,” मौसमविद् रोजन लामिछाने बाह्रखरीसँग भन्छन् । 

काठमाठौंमा भने आज पनि तापक्रममा धेरै फेरबदल नहुने उनले बताए । काठमाडौंमा आंशिक बदली भए पनि वर्षाको सम्भावना छैन । 

Argakhachi Cement Island Ad

“काठमाडौंमा बुधबार अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्नेछ,” उनले भने, “हिजो काठमाडौंको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।” सोमबार ३१ डिग्री सेल्सियस रहेको थियो । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च–पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका केही  स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्