
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम अमेरिकाले गराएको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गरेर उनले ती दुई देशबीच तत्काल युद्धविराम गर्न अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेलेको दाबी गरेका हुन् ।
“मलाई विश्वास छ यो एक स्थायी युद्धविराम हो, जसले धेरै आणविक हतियार भएका दुई देशहरू बीचको खतरनाक द्वन्द्वको अन्त्य गर्दछ,” उनले भनेका छन् । अमेरिकाले व्यापार रोक्ने चेतावनी दिएपछि भारत–पाकिस्तान युद्धविराम गर्न सहमत भएको उनको भनाइ थियो ।
आफूले भारत र पाकिस्तान दुवै देशलाई राखेको प्रस्ताव स्मरण गर्दै ट्रम्पले भने, “यदि तपाईंहरूले युद्ध रोक्नुभयो भने हामी धेरैखाले व्यापार गर्नेछौं, यदि तपाईंहरूले (युद्ध) रोक्नुभएन भने हामी व्यापार बन्द गर्नेछौँ ।”
“उनीहरू (भारत र पाकिस्तान) विभिन्न कारणले यो निर्णय (युद्धविराम) लिन बाध्य भएका हुन् । तीमध्ये व्यापार एउटा प्रमुख कारण हो,” उनको थप भनाइ थियो, “हामी पाकिस्तानसँग पनि विभिन्न व्यापार गर्छौं । भारतसँग पनि विभिन्नखाले व्यापार गर्छौं । हामी भारतसँग वार्तामा छौँ । पाकिस्तानसँग पनि वार्ता गर्नेछौँ ।” बीबीसी