
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारी मिलेर कालीगण्डकीको बालुवा तथा गिट्टी दोहन गरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यसमा सरकार रमिते भएर बसेको आरोप समेत लगाए । “बागलुङ क्षेत्र नं.१ कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भएको छ कि यो पहिला पनि मैले उठाएको थिएँ । जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै छन् । सरकार रमिते भएर हेरिरहेको छ,” सांसद केसीले भने ।
त्यहाँ बालुवा गिटी उत्खनन नरोक्ने हो भने कालीगण्डकी करिडोरको बाटो भासिने स्थिति रहेको उनले जानकारी दिए । सम्बन्धित मन्त्रालयले कडाइका साथ त्यो रोक्नुपर्ने उनले जनाए ।
“सर्वोच्चले नझिक्न भन्ने आदेश दिँदा पनि, जनप्रतिनिधि र कर्मचारी मिलेर लुटपाट गरिरहेका छन् । त्यो तत्काल रोकियोस्,” सांसद केसीले भने ।