
नेपालीभाषी भुटानी संगीतकार अम्बर तुम्बापो सुब्बाको जन्मदिनको अवसरमा ‘नेपालबाट मेरो भाइलाई चिनो’ भनेर ल्याइदिए ‘पानीको परेड’ ।
त्यसपछि कवि तथा गीतकार दाजु दिनेश अधिकारीलाई फोन गरेर मेरो हातमा पुस्तक आइपुगेको खबर गरेँ ।
यसभन्दा अगाडि कवि दिनेश अधिकारीका गीत, कविता र वार्ताहरूले प्रशस्तै जीवन जिउने मेरा मार्गहरू कोरिदिएको छ । स्वरसम्राट नारायणगोपाललाई भेट्न नपाए पनि गीतकार दिनेश अधिकारीका शब्द र नम्रताले म आफू पनि नजिक हुन पाएको अनुभव गरेको छु मैले ।
पुस्तक पाएपछि आँखा कविताका हरफहरूमा दौडिन थाले । दिनेश अधिकारीको ‘पानीको परेड’ पढ्दै जाँदा मन साँच्चै नै त्यहाँ उठाइएका पात्रहरूसँग नै भेट भएको अनुभूत हुँदै गयो । अनि, त्यस्तै जीवन महसुस हुँदै गयो ।
कविताबाट पनि गणतन्त्रिक नेपालको सुन्दर परिकल्पना गरेको पाइन्छ, दिनेश दाजुको पुस्तक ‘पानीको परेड’मा । कविले आफ्नो भोगाइ, आफू बाँचेको समय, समाजको अनुभव संसारलाई काव्यिक रूपमा सविस्तार पात्रहरूका माध्यमबाट देखाइरहेको पाइन्छ । त्यसैमार्फत नयाँ जीवन पनि देखाएको एउटा पाठकले महसुस गर्न सक्छ ।
कवि डा. नवराज लम्सालको भनाइले त्यसलाई झनै स्पष्ट पार्छ । उनको भनाइ हेरौँ, “यो हामीजस्ता भाइबहिनीका लागि कविता पढ्ने पाठशाला पनि हो ।”
‘पानीको परेड’ कवितासंग्रहले नेपाली समाजका विविध पक्षहरूलाई गहिरो रूपमा चित्रण गरेको छ । कवि दिनेश अधिकारीले आफ्ना कविताहरूमा सामाजिक, राजनीतिक, आर्थिक, वातावरणीय र लैंगिक मुद्दाहरूलाई समेट्नुभएको मलाई महसुस भएको छ ।
नेपाली साहित्यमा कवि अधिकारीको योगदान अतुलनीय छ । उहाँका काव्य रचनाहरूमा समाजका विविध पाटाहरूको गहिरो चित्रण भेट्छ पाठकले ।
परिवर्तित संरचना र सम्बन्धहरू
‘पानीको परेड’मा कविले परम्परागत नेपाली पारिवारिक संरचनामा आएको परिवर्तनलाई गहिरो रूपमा प्रस्तुत गरेका छन् । ‘हजुरबा’ (पृष्ठ ३२) जस्ता कवितामा आधुनिकताले पारिवारिक सम्बन्धहरूमा ल्याएको दूरी देखाएको छ । त्यस्तै, ‘आस्थाको आकाश’ (पृष्ठ २९–५४)मा सामाजिक एकताको क्षय र त्यसको प्रभाव उजागर गरिएको छ ।
सत्ताको आलोचना
कविताहरू ‘बकरा वर्ष’ (पृष्ठ ५७–८३) र ‘सत्ता’ (पृष्ठ ७४)मा कविले राजनीतिक शक्तिहरूले सत्यलाई कसरी विकृत पार्छन् भन्ने कुरालाई तीव्र रूपमा प्रस्तुत गरेका छन् । यी कविताहरूमा राजनीतिक भ्रष्टाचार र मानव विकास सूचकांकमा नेपालको कमजोर अवस्थाप्रति असन्तुष्टि प्रकट भएका छन् ।
लैंगिक समानता र सामाजिक समावेशिता
‘एउटा अर्को बलात्कार’ (पृष्ठ ९५)मा महिलामाथि हुने यौन हिंसाको गम्भीर चित्रण छ । ‘पुरुष–वेश्या’ (पृष्ठ ६५)मा पुरुषहरू पनि सामाजिक अपेक्षाहरूको जालमा कसरी फस्छन् भन्ने विषय उठाइएको छ । यी कविताहरूले लैंगिक मुद्दाहरूलाई बहुपक्षीय दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ ।
सीमावर्ती क्षेत्रका पीडाहरू
‘आवरण र अस्तित्व’ (पृष्ठ ३७)मा कविले नेपाली हुनुको गर्वलाई व्यक्त गरेका छन् । अर्को कविता ‘सीमाक्षेत्रको बासिन्दा’ (पृष्ठ ९६)मा सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरूले भोग्दै आएको अपमान र पीडालाई उजागर गरेका छन् । यी कविताहरूमा देशप्रेम नयाँ दृष्टिकोणका साथ प्रस्तुत गरिएको छ ।
पर्यावरण र सामाजिक परिस्थिति
‘घरबाट निस्केपछि’ (पृष्ठ १०५) र ‘मर्नुअघि’ (पृष्ठ १०७) मा मानव र प्रकृतिको सम्बन्धलाई गहिरो रूपमा चित्रण गरिएको छ । कविले देखाएका छन् कसरी सामाजिक मान्यताहरू र वातावरणीय परिवर्तनहरू एकार्कासँग सम्बन्धित छन् र यसले समाजमा के कस्तो प्रभाव पारिरहेका छन् ।
आत्मचेतना
‘संक्रमित चेतना’ (पृष्ठ ६२)मा आत्मचेतनाले ल्याउने पीडाको वर्णन गरिएको छ ।
गरिबीको यथार्थ
‘ट्रक ड्राइभर’ (पृष्ठ ८७) शीर्षकको कथामा व्यस्त जीवनका कारण परिवारसँग समय बिताउन नसक्ने युवा ट्रकचालकको कथा छ । ‘खुसी’ (पृष्ठ ८९)मा प्रवासी श्रमिकहरूको दुःखद यथार्थ प्रस्तुत गरिएको छ, जहाँ परिवारहरू केवल दुःखद घटनाहरूमा मात्र एकत्रित हुन्छन् ।
‘योजना’ (पृष्ठ ७२)मा साना व्यवसाय गर्ने महिलाहरू र रिक्साचालकहरूको संघर्षलाई उजागर गरिएको छ ।
यसरी यो कवितासंग्रह ‘पानीको परेड’मा सन् २००७ देखि २०२३ सम्म लेखिएका ७७ वटा कविता समेटिएको छ, जसले समाज, राजनीति, अर्थतन्त्र, वातावरण र मानव सम्बन्धहरूलाई विविध कोणबाट उजागर गरेको छ ।
प्रतिष्ठित कवि तथा गीतकार अधिकारीको ‘पानीको परेड’ आजको काव्य यात्रामा एक महत्त्वपूर्ण कृतिका रूपमा खडा भएको छ । यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन समेत प्रेरित गर्छ ।
मदन पुरस्कार प्राप्त कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई पढ्नु र पात्रहरूसँगै जीवन जिउनु हाम्रा लागि अहोभाग्य हो । स्पष्टतः भन्दा ‘पानीको परेड’ उनको परिपक्व चिन्तन र समर्पित सिर्जनाको परिणति हो ।
कविता पढ्ने जोकोहीलाई समकालीन सामाजिक अवस्थाबारे सोच्न र अनुभूत गर्न प्रेरणा दिन्छ यो संग्रहले ।