site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारत–पाकिस्तान तनाव : दुवै देशको फ्रेन्चाइज क्रिकेटमा असर

काठमाडौं । दुई छिमेकी देश भारत र पाकिस्तानको बढ्दो तनावको प्रत्यक्ष असर विश्वकै ठूला दुई फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल)मा समेत परेको छ ।

छिमेकी राष्ट्रसँगको बढ्दो तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको शुक्रबारदेखिका सम्पूर्ण खेलहरू स्थगित गरिसक्दा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पनि पीएसलका बाँकी खेलहरू युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना गर्ने भएको छ ।

Argakhachi Cement Island Ad

बढ्दो तनावका कारण आईपीएलमा बिहीबार राति पनि पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो । उक्त खेलमा १०.१ ओभर चलिहरँदा धर्मशाला क्रिकेट मैदानका एउटा फ्लड लाइट अफ भएको थियो । यसपछि आयोजक र त्यहाँको स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै खेल अघि बढाउने अनुमति दिएनन् ।

खेलमा पहिले ब्याटिङ गरिरहेका पञ्जावले १०.१ ओभरमा एक विकेट गुमाएर १२२ रन बनाएको थियो । “भारत–पाकिस्तान सैन्य द्वन्द्वका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित,” बीसीसीआईका एक अधिकारीबाट प्रेस ट्रस्ट इन्डिया (पीटीआई)लाई प्राप्त उद्धरणलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ । गएको मार्च २२ देखि सुरु भएको आईपीएलको पूर्वनिर्धारित तालिकाअनुसार मे २५ मा फाइनल खेल हुने तय छ । तर, यी दुई देशबीचको तनावले स्थगित बनेको प्रतियोगिता बीसीसीआईले एक हप्ताका निम्ति सारेको जनाएको छ । अर्थात्, यो प्रतियोगिताले पूर्वनिर्धारित तालिकाअनुसार विजेता नपाउने पक्का बनेको छ । 

यता, गएराति नै पीएसएलमा पनि त्यस्तै स्थिति देखियो । यही तनावका कारण पीएसएलमा बिहीबार राति नै हुने तय भएको पेसावर जाल्मी र कराँची किंग्सबीचको खेल पनि रद्द भयो । अप्रिल ११ देखि सुरु भएको प्रतियोगिताको कुल ३४ खेलमध्ये हालसम्म २६ खेल सम्पन्न हुँदा एक खेल भने यही तनावका कारण रद्द भयो । प्रतियोगिताको फाइनल खेल मे १८ मा हुने तालिका रहे पनि दुई देशबीचको तनावका कारण यो पनि अनिश्चित बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्