
काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानबीच तत्काल तनाव कम गर्न आह्वान गरेको छ । बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी प्रधानमन्त्री मोहम्मद शहबाज शरीफसँग छुट्टाछुट्टै वार्ता गरी दुई देशबीच बढ्दो तनाव कम गर्न आवश्यक रहेकोमा जोड दिएको सीएनएनले जनाएको छ ।
दुवै टेलिफोन वार्ताको सारांशमा रुबियोले भारत र पाकिस्तानबीच प्रत्यक्ष वार्तालाई अमेरिकी समर्थन रहेको बताउँदै सम्पर्क सुधार गर्नेतर्फ अगाडि बढ्न आह्वान गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शरीफसँगको वार्तामा उनले पाकिस्तानले आतंकवादी समूहहरूलाई सबै प्रकारको समर्थन रोक्न ठोस कदम चाल्नुपर्ने माग गरेको उल्लेख छ ।
यस्तै, भारतीय सरकारी स्रोतका अनुसार, भारतले अमेरिका र अन्य देशहरूलाई पाकिस्तानलाई आतंकवाद समर्थन बन्द गर्न अमेरिकासँग आग्रह गरेको सीएनएनले उल्लेख गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीसँगको वार्तामा रुबियोले वर्तमान द्वन्द्वमा नागरिकको जीवनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । भारतले गरेको हमलामा नागरिक मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ भने भारतले यो हमला आतंकवादी संरचनामा मात्र लक्षित गरिएको जनाएको छ ।