
काठमाडौं । भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव उच्च तहमा पुगेको छ ।
भारतले मंगलबार राति स्थानीय समयानुसार १ः०५ बजेदेखि १ः३० बजेसम्म पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणलाई भारतले ‘अप्रेसन सिन्दुर’ नाम दिएको छ ।
भारतले मंगलबार हवाई आक्रमण सुरु गरेयता दुई देशको आक्रमणका परी दुवैतर्फ कुल ४१ जना सर्वसाधारण मारिएका छन् । पाकिस्तान र भारतको आक्रमणमा परी यस अवधिमा दुवैतर्फ गरी कुल ८९ जना सर्वसाधारण घाइते भएका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतीय आक्रमणमा परी पाकिस्तानमा २६ जना सर्वसाधारणको मृत्यु भएको छ । ४६ जना घाइते भएका छन् ।
भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना भारतीय सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको जनाएको छ ।
दुई देशबीचको टकराव बढ्दै जाँदा भयानक युद्धको रूप लिनेतर्फ अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तानलाई सतर्क गराइरहेका छन् ।
भारत र पाकिस्तानबीच टकराव बढेकोमा रुसले चिन्ता व्यक्त गरेको छ । रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ ।
“रुस सबै प्रकारका आतंकवादको कडा शब्दमा निन्दा गर्दछ र आतंकवादविरुद्ध प्रभावकारी रूपमा लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासको आवश्यकतामा जोड दिन्छ,” रुसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, “आशा छ कि भारत र पाकिस्तानबीचका विद्यमान मतभेदहरू शान्तिपूर्ण माध्यमबाट समाधान गर्न सकिन्छ ।”
रुस दशकौँदेखि भारतको सबैभन्दा नजिकको सहयोगी रहँदै आएको छ, तर रुसले पाकिस्तानसँग पनि राम्रो सम्बन्ध कायम राखेको छ ।
यसैबीच, बेलायती विदेशमन्त्री डेभिड लामीले भारत–पाकिस्तान तनावलाई गम्भीर बताएका छन् । उनले भनेका छन्, “बेलायत सरकारले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन र सँगै बसेर कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न अपिल गर्दछ ।”
फ्रान्सका विदेशमन्त्री जिन–नोएल ब्यारोटले पनि भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
फ्रान्सेली समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ब्यारोटले भनेका छन्, “हामी आतंकवादको संकटबाट आफूलाई बचाउने भारतको चाहना बुझ्छौँ, तर हामीले दुवै देशलाई तनाव बढाउनबाट बच्न र नागरिकको सुरक्षा गर्न संयम अपनाउन आग्रह गर्छौं ।”
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाहीलाई ‘लज्जास्पद’ भनेका छन् । उनले वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न पनि दुवै देशलाई आग्रह गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग बुधबार टेलिफोन वार्ता गरेका थिए । उनले दुवै देशलाई संवाद खुला राख्न र तनाब नबढाउन आग्रह गरेका थिए ।
युनाइटेड अरब इमिरेट्स (यूएई) भारत र पाकिस्तान दुवैलाई ‘संयमता अपनाउन, तनाव कम गर्न र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पार्न सक्ने थप तनावबाट बच्न’ आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा पारी भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
जापानी प्रमुख क्याबिनेट सचिव योशिमासा हयाशीले भारत र पाकिस्तानबीच तनाव बढेकोमा चिन्ता व्यक्त गरेका छन् । यो घटनाले प्रतिशोध बढाउन र पूर्ण स्तरको सैन्य द्वन्द्वमा लैजान सक्नेमा उनले चिन्ता व्यक्त गरेका छन् । भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन र वार्तामार्फत समस्या सुल्झाउन उनले आग्रह गरेका छन् ।
चीनले पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । हालको विकसित घटनाक्रमप्रति चीनले चिन्ता पनि व्यक्त गरेको छ ।
“भारत र पाकिस्तान छिमेकी हुन् जसलाई सार्न सकिँदैन र दुवै चीनका छिमेकी पनि हुन्,” चीनको विदेश मन्त्रालयका प्रवक्ताले बुधबार एक विज्ञप्तिमार्फत भनेका छन् ।
ट्रम्प प्रशासनले व्यापार युद्ध सुरु गरेपछि पछिल्लो समय चीनले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेको छ । पाकिस्तान चीनको सबैभन्दा नजिकको साझेदारमध्ये एक हो र बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक हो ।
टर्कीको विदेश मन्त्रालयले भारतीय आक्रमणले ‘पूर्ण युद्धको जोखिम बढाउने’ भन्दै आक्रमणको निन्दा गरेको छ । “हामी यस्ता उत्तेजक कदमहरूको साथै नागरिक र नागरिक पूर्वाधारलाई लक्षित आक्रमणको निन्दा गर्छौं,” टर्कीको विदेश मन्त्रालयले भनेको छ ।
इरानले पनि पाकिस्तान र भारत दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ ।