site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वत एमालेमा देखिएको विवाद : टाउको फुटाएर ‘अबिर जात्रा’ !

पोखरा । तत्कालीन गण्डकी र धौलागिरि क्षेत्र नेकपा (एमाले)मा केपी शर्मा ओलीको प्रभावस्थलका रूपमा चिनिन्थ्यो । त्यसमा अपवादचाहिँ पर्वत थियो । पर्वतमा माधव नेपालको प्रभाव थियो । एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बन्दा होस् वा माधव नेपालले नेकपा (एकीकृत समाजवादी) खोल्दा पनि पर्वतमा उनी पक्षकै प्रभाव रह्यो । भलै, नेपालले एकीकृत समाजवादी खोल्दा उनी पक्षधर नेता एमालेमै रहे ।

तर, पर्वत कालान्तारमा ओलीकै प्रभाव क्षेत्रका रूपमा विकास भयो । हाल एमालेमा माधव नेपाल छैनन्, ओली एकछत्र छन् । ओली एक्ला छन्, उनका समर्थक भने एक छैनन् ।

ओलीकै गुणगान गाउने पर्वत एमालेमा दुई समूहको गुटबन्दीको सिकार बुधबार (वैशाख २४) युवा संघका नेता एवं एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल ‘निर्जन’ बन्न पुगे । पार्टी कार्यालयमा नेतृत्वको अगाडि उनको टाउको फुट्यो । उनी उपचारनिम्ति पर्वतबाट पोखरा आएका छन् ।

यहीबीच एमाले पर्वत नेतृत्वले भने युवा संघको आयोजक कमिटी बनेको भन्दै केही युवालाई अबिर लगाइदियो ।

फरक मत भएका कारण आफ्नै संगठनका युवाले रगत बगाउँदा एमाले पर्वतले उनी आफैँ आक्रमण गर्न आएको र ठोक्किएर चोट लागेको विज्ञप्तिमा उल्लेख गरेको छ । एमाले पर्वतका अध्यक्ष गोविन्द गिरी आफू पनि घाइते भएको भन्दै अस्पताल गएका छन् ।

कुनै बेला माधव नेपालको दबदबा रहेको पर्वत एमालेमा हाल गुटबन्दी तलैसम्म पुग्दा बुधबारको घटना हुन पुगेको हो ।

पर्वतमा एमालेभित्र दुई गुट छन् । प्रतिनिधिसभा सदस्य पदम गिरीले एउटा गुट सम्हालेका छन् । अर्को गुटमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना, संविधानसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री विकास लम्साल, संविधानसभा सदस्य कल्पना चापगाईंलगायत नेता–कार्यकर्ता छन् ।

पदम गिरी प्रदेशमा खगराज अधिकारीनिकट मानिन्छन् । तिमिल्सिना समूह एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट हो ।

एमाले गण्डकीमा खगराज र पृथ्वीसुब्बाको गुटगत प्रतिस्पर्धा रेडक्रससम्म पुगेको छ । हालै कास्की रेडक्रसको अधिवेशनमा पृथ्वीसुब्बा पक्षधर उमेदवार विजयी भएकी थिइन् ।

यिनै दुई केन्द्रीय नेताले आफ्नो शक्ति विस्तारनिम्ति गुट बनाउँदै जाँदा त्यसको असर गण्डकी प्रदेशका सबै जिल्लामा देखिएको छ । बुधबार पर्वत एमाले पार्टी कार्यालयमा भएको उक्त घटना पनि गुटगत लडाइँकै उपज हो ।

विवादको चुरोचाहिँ अधिवेशन गर्ने कि नगर्ने भन्नेमा थियो । एमाले भातृसंगठन युवा संघ पर्वतको नवौँ अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो । 
तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली त्यसमा सहमत थिएनन् । 
यही वैशाख २० गते उनीहरूले जारी गरेको विज्ञप्तिमा ‘युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने भएका कारण जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोटलगायत कार्य गर्नुपर्ने भएकाले युवा संघ पर्वतको अधिवेशन अर्को सूचना नआउनेसम्म स्थगित गरिएको’ जनाइएको छ ।

यसका बाबजुद पर्वत एमाले नेतृत्व र पदम गिरी समूहले बुधबार नै अधिवेशन गर्ने अडान लियो । 
सोहीअनुसार पार्टी कार्यालयको तेस्रो तलामा कार्यक्रम सुरु भयो । त्यसलाई रोक्न भन्दै पुगेका पौडेलसहितका युवा त्यहीँ कुटिएका हुन् ।

पौडेल कुटपिटपछि एमाले पर्वतले अधिवेशननिम्ति आयोजक कमिटी गठन गरिएको जनाएको छ ।

कुटपिटको घटनालगत्तै एमाले गण्डकी प्रदेश कार्यालयले विज्ञप्ति जारी गर्‍यो । त्यसको ‘काउन्टर’मा एमाले पर्वतले विज्ञप्ति जारी गरेको छ । युवा संघ पर्वतले पनि विज्ञप्ति जारी गर्दै एकार्काप्रति दोषारोपण गरेको छ ।

एमाले गण्डकी अध्यक्ष नवराज शर्मा उपमहासचिव पृथ्वी सुब्बा गुरुङनिकट हुन् । कुटिएका प्रदेश सदस्य पौडेल पनि पृथ्वीसुब्बा समूहकै हुन् । एमाले गण्डकीले जारी गरेको विज्ञप्तिमा जिल्ला कमिटी पर्वतलाई दोष लगाइएको छ ।

शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिल्ला कमिटी पर्वतका अध्यक्ष कमरेड गोविन्द पहाडीलगायत कमरेडहरूको उपस्थितिमा भएको त्यस विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गुर्नको साटो पार्टी प्रदेश कमिटीका सदस्य अर्जुन पौडेलमाथि भौतिक आक्रमणमा उत्रने जुन कार्य भएको छ, यसप्रति गम्भीर निन्दा र भर्त्सना गर्न चाहन्छ ।” 
उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।

त्यसको काउन्टरमा एमाले पर्वतले विज्ञप्ति निकालेको हो । सचिव सुवासचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा एमाले पर्वतका अध्यक्षमाथि आक्रमण भएको आरोप लगाइएको छ ।

“विस्तारित भेला चलिरहेकै बेला नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेललगायतको समूह कार्यक्रम चलिरहेकै हलमा अराजक तवरबाट होहल्ला गर्दै पसी, मञ्चमा चढी ब्यानर च्यात्ने, माइक तथा कुर्सीहरू तोडफोड गर्नेजस्ता अमानवीय कार्य गरी जिल्ला अध्यक्षमाथि सांघातिक आक्रमण गर्‍यो,” विज्ञप्तिमा भनिएको छ ।

पौडेल धकेलाधकेलमा परी पछाडिपट्टि रहेको पिल्लरमा ठोक्किएर चोट लागेको विज्ञप्तिमा उल्लेख छ । एमाले गण्डकीलाई घटनाको जिम्मेवार ठहर्‍याइएको छ ।

घटनाको यथार्थ विवरण नबुझी प्रदेश कमिटीले तथ्यविपरीत विज्ञप्ति निकालेर भ्रम सिर्जना गरेको जिल्लाले आरोप लगाएको छ ।

युवा संघ पर्वतले पनि विज्ञप्ति जारी गर्दै जिल्ला नेतृत्वको विरोध गरेको छ । अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले विज्ञप्ति जारी गर्दै पार्टी ‘जिल्ला अध्यक्ष पहाडीको उपस्थितिमा हातहतियार प्रयोग गरी मरणासन्न अवस्थामा पुग्ने गरी कुटपिट गर्ने, उक्साउने, आक्रमण गर्ने व्यक्तिहरूलाई कारबाही’को माग गरेका छन् ।

उनीहरूले ‘आफूहरूको उपस्थिति र परामर्शबिना नै युवा संघको विधि, पद्धति, मूल्य–मान्यता, जबजको मर्मविपरीत मुठभेड निम्त्याउने मनसायले एमाले पर्वतको नेतृत्वले एकलौटी भेला आयोजना गरेको’ आरोप लगाएका छन् ।

बुधबार जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्दा पनि सचिव र अध्यक्ष कार्यक्रममा उपस्थित थिएनन् । उपाध्यक्षको अध्यक्षता र उपसचिवको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।

पदम गिरी कि गणेश तिमिल्सिना भन्ने प्रतिष्ठाको लडाइँले एमाले पर्वतमा तल्लो तहसम्मै गुट मौलाएको छ । कुनै बेला पदम गिरीलाई जिल्ला अध्यक्षमा चुनाव जिताउन कार्यक्रम उद्घाटन गर्न बोलाइएका एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पर्वत पुगिसकेको अवस्थामा समेत ओलीलाई ल्याउने भनेर अधिवेशन स्थगन गरिएको थियो ।

त्यति बेला एमाले पर्वतको अध्यक्षमा विकास लम्साल थिए । उनीसहितको टोलीले नै पदम गिरीलाई नेतृत्वमा अगाडि सारेको थियो ।

हाल उनै गिरीविरुद्ध गणेश तिमल्सिना, विकास लम्साल, कल्पना चापागाईं, पदमपाणि शर्मालगायत नेता लागेका छन् । जिल्लाको राजनीतिमा गिरीको एकछत्र राज हटाउन उनीहरूको गठजोड भएको हो । उनीहरू कसरी हुन्छ गिरी समूहलाई कमजोर बनाउन लागेका छन् ।

हालै सम्पन्न पत्रकार महासंघ पर्वतको अधिवेशन पनि त्यसमा जोडिन्छ । प्रेस चौतारी र नेपाल प्रेस युनियन मिलेका थिए । त्यसानुसार पर्वतको नेतृत्व एमालेनिकट चौतारीको भागमा परेको थियो ।

त्यो चुनावमा पनि उमेदवार कसलाई बनाउने भन्नेमा गिरी र तिमिल्सिना समूह लागेका थिए । प्रेस चौतारीबाट एकजनाको नाम सार्वजनिक भइसकेपछि गिरी पक्षले आधिकारिक भन्दै अर्को उमेदवार खडा गरेको थियो । मतदानमा गएको अवस्थामा नतिजा आफ्नो पक्षमा नआउने भएपछि एक मात्र उमेदवार सर्वसम्मत भएको घोषणा गरिएको थियो ।

प्रतिनिधिसभाको पहिलो र दोस्रो निर्वाचनमा सफलता हासिल गरेपछि र संघमा मन्त्री बनेपछि पर्वतमा पदम गिरीको प्रभाव बढ्दै गएको हो । कुनै बेला गिरी एमालेको प्रमुख सचेतक पनि थिए । उनले एमालेमा आफ्नो शक्ति बढाउँदै गए । जिल्लामा पनि सोहीअनुरूप प्रभाव विस्तार गर्न थालेका हुन् ।

गएको जिल्ला अधिवेशनमा पनि छुट्टाछुट्टै उमेदवार खडा गरेर प्रतिस्पर्धा भएको थियो । तिमिल्सिना त्यति बेलाका अध्यक्ष राजु पौडेललाई दोहोर्‍याउन चाहन्थे । तर, उपाध्यक्ष पदमपाणि शर्माको माहोल देखिएपछि उनलाई अघि सारियो ।

उनी पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा, पूर्वसंविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वसंविधानसभा सदस्य एवं पूर्वप्रदेश पर्यटनमन्त्री विकास लम्साल, प्रदेशसभा सदस्य मित्रलाल बस्याल र भक्त कुँवरको साथमा रस्साकस्सीमा अघि लागेका थिए ।

गिरी समूहलाई नेतृत्व नदिन पूर्वमुख्यमन्त्री गुरुङ स्वयं पर्वत पुगेका थिए ।

गिरी समूहले भने हालका अध्यक्ष गोविन्द पहाडीलाई अघि सारेको थियो । निर्वाचनमा गिरी समूहको प्यानल नै निर्वाचित भयो । त्यसपछि पनि पर्वतमा यी दुई समूहबीच प्रतिष्ठाको होडबाजी जारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro