site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गभर्नर पद एक दिन पनि खाली राख्न हुँदैन, सरकार निष्क्रिय बस्न पाउँदैन’ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गभर्नर पद एक दिन पनि खाली राख्न नहुने धारणा राखेको छ । सांसद डा. चन्दा कार्कीले बिहीबारको संसद्‍मा विशेष समयमा बोल्दै देशमा आर्थिक संकट रहेको अवस्थामा राष्ट्र बैंकको गभर्नरमा राजनीतिक भागबन्डामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताइन् । उनले सरकारको भूमिका आर्थिक सुधारका लागि पर्याप्त नभएको बताइन् । 

“देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक जो देशको वित्तीय मेरुदण्ड हो । गर्भनरको कार्यकाल सकिएको एक महिना नाघिसक्यो । तर, आजसम्म त्यो पद खाली छ । सरकार मौन र निर्णयविहीन भएर बसेको छ,” डा. कार्कीले भनिन्, “यो एउटा पद रिक्त भएको विषय मात्र होइन । यो देशको अर्थतन्त्र नेतृत्वविहीन बनेको गम्भीर संकेत हो ।”

देशको समग्र आर्थिक अवस्थाका विषयमा टिप्पणी गर्दै उनले अर्थतन्त्र ज्यादै संवेदनशील अवस्थामा रहेको बताइन् । बैंकहरूमा खराब कर्जाको अनुपात निर्देशकीय सीमाभन्दा माथि पुगेको उनले बताइन् । 

“नेपाल एफएटीएफको ‘ग्रे–लिस्ट’मा परेको छ, जसको अर्थ हो, अन्तराष्ट्रिय नजरमा हाम्रो वित्तीय प्रणाली शंकाको घेरामा परेको छ,” कार्कीले भनिन्, “बजेट आउन लागिरहेको छ । मौद्रिक नीति बनाउने बेला आएको छ । विश्व बैंक, एडीबीलगायत विकास साझेदारले नियामक स्थायित्व खोजिरहेका छन् ।” तर, राष्ट्र बैंक नेतृत्वविहीन हुँदा पनि सरकार चुप लागेर बसेको उनले बताइन् । 

देशमा आर्थिक समस्या घटनुको साटो चुलिँदै गएको उनको भनाइ थियो । राजनीतिक परिवर्तन भएर पनि नागरिकले आर्थिक राहत पाउन नसकेको बताइन् ।

औद्योगिक, वित्तीय व्यवसाय, कृषि पर्यटन, रियलस्टेटजस्ता हरेक क्षेत्र सिथिल हुँदा आर्थिक सुशासनको धज्जी नै उडेको उनको ठम्याइ छ । “युवाले देशमा भविष्य देख्न छोडिसके र विदेशिने युवाको संख्या दिनानुदिन बढ्दो छ ,” उनले भनिन्, “सरकार समस्यालाई सुल्झाउनपट्टि नलागी राष्ट्र बैंकजस्तो महत्त्वपूर्ण र संवेदनशील संस्थालाई पनि राजनीतिक सौदाबाजीको थलो बनाइरहेका छन् ।” 

मौद्रिक नीति बनाउने मात्र नभएर वित्तीय अनुशासन र स्थायित्व कायम राख्ने, नागरिकलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने काम पनि गर्भनरको भएको उनले बताइन् । “त्यसैले यस्तो पद एक दिनका लागि पनि खाली रहनुहुँदैन । तर यसको चिन्ता सरकारले लिएको देखिँदैन,” कार्कीले भनिन्, “सरकार भने अझै पनि भागबन्डाको खेलमा नै व्यस्त छ ।” 

उनले गभर्नर कसको भागमा हुने भन्ने खेलमा लागेर मुलुकको भविष्य दाउमा लगाउनु दुर्भाग्यपूर्ण भएको बताइन् । उनले यस्तो अवस्थामा पनि सरकारको संवेदनहीनता लज्जास्पद भएको बताइन् । 

“देशको अर्थतन्त्र सही लयमा नहिँडेको अवस्थामा देशको वित्तीय नियामक संस्था नेतृत्वविहीन हुनु आफैँमा लज्जास्पद कुरा हो,” कार्कीले भनिन्, “त्यसमा भागबन्डाको चलखेल हुनु त अझ पीडादायी कुरा हो ।” उनले यस्तो बेला सरकार निष्क्रिय बस्न नपाउने भन्दै गभर्नरको नियुक्ति तत्काल गर्न माग गरिन् । उनले गभर्नर नियुक्ति भागबन्डाका आधारमा नभएर योग्यता निष्पक्षता र पारदर्शिताका आधारमा गर्न माग गरिन् । त्यसका लागि कानुनी संरचना परिमार्जन गर्न नहुने उनले बताइन् । 

सबै मानिसमा सबै गुण नहुने भन्दै उनले नेतामा चार गुण भए देश समृद्ध बन्ने बताइन् । “यो देश बनाउने जिम्मा लिएको नेतृत्व वर्गमा यदि चारवटा गुण मात्र सही ढंगले व्यवस्थापन सकियो भने देशलाई समृद्धिको यात्रामा लैजान सकिन्छ,” कार्कीले भनिन्, “ती चारवटा गुण सफा नियत, संवेदनशील मन, गतिलो व्यवहार र इमान्दारी हुन् ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro