
काठमाडौं । सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट बुधबार १४ लाख ९९ हजार सात सय भारतीय रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले मोरङको उर्लाबारी बस्ने ३८ वर्षका डम्बर बहादुर कार्कीलाई उक्त रकमसहित नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उक्त रुपैयाँमा पाँच सय दरका दुई हजार नौ सय ९९ सय र दुई सय दरको एउटा नोट छन् । उक्त रुपैयाँ कसरी र के प्रयोजनको लागि ल्याएको हो खुल्न नसकेको प्रवक्ता थापाले बताए ।
नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।