
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम प्रशासनलाई थप व्यवस्थित गर्दै अघि बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले श्रम कार्यालयलाई प्रदेशसँग जोड्ने गरी काम भइरहेको दाबी गरे ।
श्रमसम्बन्धी कार्यलाई पारदर्शी बनाउनका लागि सवै सेवा, सूचनालाई एकीकृत गर्ने काम भएको उनले बताए । रोजगारीको विकल्प रोजगारी नै हुने भएकाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने उनले औँल्याए ।
मन्त्री भण्डारीले रोजगारीलाई सीपसँग जोड्न सके देशभित्र पनि थुप्रै रोजगारी सिर्जना गर्न सकिने दाबी गरे । उनले श्रम क्षेत्रमा देखिएको समस्या एकअर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने भन्दै सरकार, ट्रेड युनियन र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै मन्त्री भण्डारीले त्यसका लागि आवश्यक ऐन, कानुन संशोधन हुने जानकारी दिए ।