
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकबाट जारी भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टलाई आफ्नो व्यवसायको दायरा विस्तार गरी देश–विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुआतपश्चात् ईकमर्स कारोबार गर्ने ट्राभल तथा टुर एजेन्सी, होटेल, एयरलाइन्स, हस्पिटललगायत व्यवसायी लाभान्वित हुने बैंकले जनाएको छ ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानी प्राप्तिका निम्ति सहज बनाउने भएकाले बैंकका मर्चेन्टको व्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यो पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यसमार्फत हुने कारोबार थप सुरक्षित हुने बैंकले जनाएको छ ।