
काठमाडौं । इटालियन सिरी ‘ए’मा एसी मिलानले जिनोआविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।
जिनोआको मैदान लाइजी फरारिज रंगशालामा पाहुना टोली मिलानका निम्ति रफायल लियोले एक गोल गरे । मिलानले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । जिनोआका भिटिन्हाले गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६१औँ मिनेटमा भिटिन्हाको गोलमार्फत जिनोआले अग्रता बनाएको थियो । ७६औँ मिनेटमा लियोले गोल गर्दै मिलानलाई बराबरीमा ल्याए ।
त्यसको एक मिनेटपछि नै घरेलु टोलीका मोर्टेन फ्रेन्ड्रपबाट आत्मघाती गोल भयो । र, मिलानले २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो ।
जितसँगै ३५ खेलमा ५७ अंक जोडेको मिलान तालिकाको नवौँ स्थानमा छ । पराजित जिनोआ समान खेलबाट ३९ अंकसहित १३औँ स्थानमा छ ।