site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले सिन्धु नदी सम्झौता उल्लंघन गर्दै सिन्धुमा सुरु गर्‍यो एकतर्फी काम 

काठमाडौं । भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौता निलम्बन गरेपछि सिन्धु नदीमा एकतर्फी रूपमा जलविद्युत् परियोजनाहरूको काम सुरु गरेको छ । 

समाचार संस्था रोयटर्सका अनुसार भारतले कश्मीरको दुई जलविद्युत् परियोजनाहरूको जलासयको क्षमता बढाउने काम सुरु गरेको छ । यसको पृष्ठभूमि पाकिस्तानसँग हालैको दिनमा विकास भइरहेको तनावपूर्ण अवस्थासँग सम्बन्धित रहेको समाचारमा उल्लेख छ ।

गत महिना भारतले कश्मीरमा २६ जना पर्यटकको मृत्यु हुने गरी भएको आक्रमणमा तीनमध्ये दुई आक्रमणकारी पाकिस्तानी नागरिक भएको पहिचान गरेको थियो । त्यसपछि पाकिस्तानी कृषिको ८० प्रतिशत सिंचाइ सुविधा उपलब्ध गराउने सिन्धु नदी सम्झौता निलम्बन गरेको थियो । 

Argakhachi Cement Island Ad

अहिले भारतले सिन्धु नदीमा एकतर्फीरूपमा सुरु गरेको जलविद्युत् परियोजनाहरूको काम सिन्धु नदी सम्झौता (इन्डस वाटर ट्रिटी)को प्रावधानभन्दा बाहिर गएर गरेको पहिलो ठोस काम भएको रोयटर्सले उल्लेख गरेको छ । 

पाकिस्तानले कश्मीर आक्रमणमा कुनै भूमिका नभएको दाबी गर्दै सिन्धु नदी सम्झौताको निलम्बनलाई अन्तर्राष्ट्रिय कानुनी चुनौती दिने धम्की दिएको छ । 

पाकिस्तानको पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने उसले बताएको छ । 

रोयटर्सलाई जानकारी दिने तीनवटा स्रोतका अनुसार भारतको सबैभन्दा ठूलो राज्यनियन्त्रित जलविद्युत् कम्पनी एनएचपीसी लिमिटेड र जम्मू–कश्मीर क्षेत्रका अधिकारीहरूले बिहीबारदेखि जलासयमा रेजरवायर फ्लशिंगको काम सुरु गरेका हुन् ।

उनीहरूका अनुसार यो प्रक्रियाले सुरूमा पानीमा रहेका बालुवा र ढुंगाका कण नदी तल्लोतटीय क्षेत्रमा पठाउँदा यसले अचानक बाढीको अवस्था निम्त्याउँन सक्छ । तर, पछि जलासय फेरि भर्दा पानीको प्रवाह घट्ने सम्भावना हुन्छ ।

यसले तत्काल पाकिस्तानी क्षेत्रमा पानीको आपूर्तिलाई प्रभावित नगरे पनि अन्य बाँधहरूमा पनि यस्तै प्रयास भए दीर्घकालमा असर गर्नसक्ने समाचारमा बताइएको छ । 

यो क्षेत्रमा यस्ता आधा दर्जनभन्दा बढी परियोजनाहरू रहेका छन् । 

भारतले अहिले सालल र बगलिहार परियोजनामा यस्तो निर्माणको काम गरेको हो । सन् १९८७ र २००८/०९ मा क्रमशः निर्माण गरिएका ती परियोजनामा यस्तो काम गरिएको यो पहिलोपटक हो । सन्धिले यस्तो गतिविधि गर्न रोक लगाएको छ । भारतले पाकिस्तानलाई यसको जानकारी पनि दिएको छैन ।
 
दुवै देशले तीनवटा युद्ध र धेरै अन्य विवादहरू सामना गरे पनि सन् १९६० देखि यो सन्धिलाई पालना गर्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्