
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए ।
समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितसँग छलफल गर्न आग्रह गरे ।
त्यस्तै, माओवादी सांसद सुदन किराँतीले ठूलो लगानी भएका २२ वटा आन्तरिक विमानस्थलमा उडान नहुँदा विमानस्थल बन्द हुने अवस्थामा पुगेको भन्दै जहाज खरिद भएका लागि भएका प्रयासका बारेमा छलफल गर्नुपर्ने बताए ।
वायुसेवा निगमको पुनर्संरचना पनि नहुने र नयाँ विमान पनि खरिद गर्न नसक्दा निगम नै धरासयी हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
त्यस्तै, अन्य सांसदले नेपालमा अधिकतम रूपमा पर्यटक भित्र्याउनका लागि सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।